अर्गानिक गोल्डेन र सिल्भर चियामा सर्वसाधारणको चासो

5.41K
shares

चिप्लेढुङ्गा । “चियापत्ती पनि ५० हजार किलोपर्छ” पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको कक्ष नं– ५ मा जैविक अर्गानिक चियाको अवलोकन गरिरहेका सर्वसाधारणको प्रश्न थियो । उत्साहपूर्ण प्रश्नको उत्साहपूर्ण जवाफ दिन व्यस्त थिए हरि सिटौला । कञ्जनजङ्घा अर्गानिक अर्थोडक्स चिया उद्योग प्रालिका सञ्चालक हुन् ।

“यो अर्गानिक चियाको स्वाद चाख्नुस्”, सर्वसाधारणतिर चियाको गिलास बढाउँदै भने, “यो गोल्डेन निडल टि र यो सिल्भर निडल टि, गोल्डेन निडल टि लाई चाइनिज प्रविधिबाट बनाइन्छ, एउटा सुइरो निकाल्न पनि निकै मेहनत गनुपर्छ ।” जिज्ञासा मेटाउने क्रममा उहाँले माथिको सुइरो कठ्याग्रिदै टिप्नुपर्ने जानकारी सर्वसाधारणलाई दिए ।

उनका अनुसार उक्त चिया दुई हजार मिटरदेखि दुई हजार ४०० मिटर उचाई बीचमा उत्पादन गरिन्छ । यो चिया बोटको सुइरोमा शीत पर्छ र शीत त्यही जम्छ र ध्यान गरी एकदमै शान्त मुद्रामा टिपिन्छ । यसलाई यौगिक चिया पनि भनिन्छ । उनले भने, “गोल्डेन चियाको लागि बोटबाट सुइरो निकालेर सुकाइन्छ र रोलिङ गरेर आठ घण्टा छोपेर राखेपछि रातो भएपछि सुख्खा बनाएर तयार गरिन्छ ।”

उनले यो ब्राण्डको चिया रु ५० हजार किलोमा बिक्री हुने बताए । यसलाई बोटबाट टिपेको १३ घण्टाभित्र पूर्ण प्राकृतिकरुपमा तयार गरिन्छ । त्यसैगरी ‘सिल्भल निडल टि’ लाई चियाको बोटबाट सुइरो निकालेर जस्ताको तस्तै सुकाएर र प्याक गरिने जानकारी दिए । उनले यो चिया अर्डर आएपछि मात्रै उत्पादन गरिने जानकारी दिनुभयो । कृषकसँग प्रत्यक्ष सहकार्य गरेर जैविक चिया उत्पादनलाई जोड दिँदै आएको उहाँको भनाइ छ ।

साँखेजुङ ब्राण्डले १२ प्रकारका चिया उत्पादन गर्दै आएको र वार्षिक २० हजार किलो ब्राण्डेड चिया अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको  जानकारी दिए । विसं २०१९ मा चीनमा भएको अन्तर्राष्ट्रिय टि टेस्टिङ एक्जिविशनमा २३ देशका १९१ प्रकारका चियामध्ये कञ्चनजङ्घा अर्गानिक चिया उद्योगबाट उत्पादित ‘गोल्डेन स्पेशल ब्ल्याक लिफ्टि’ र ‘गोल्डेन टिप्स टि’ ले अन्तर्राष्ट्रिय सिल्भर अवार्ड प्राप्त गर्न सफल भएको थियो । यो अवार्डले विश्व बजारमा नेपाली जैविक चियाको गुणस्तरलाई चिनाउन सफल भएको उनको भनाइ छ ।

पोखराको चिप्लेढुङ्गामा ‘चियाज् क्याफे’ सञ्चालन गर्दै आउनुभएका सन्देश पराजुलीले भारतबाट आयातित चिया भन्दा कयौं गुणा स्वादिलो नेपालको जैविक चिया भएको प्रतिक्रिया दिए । “मैले चियाको व्यापार गर्दै आएको छु, पछिल्लो समय नेपालको चियानै अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको छ ।” आफूले पनि स्वदेशकै चियालाई नै जोड दिने उनले बताए ।

स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिने अर्गानिक अर्थोडक्स ग्रिन टि, ह्वाइट टि पनि पछिल्लो समय बजारमा माग बढ्दै गएको अर्का सञ्चालक डम्बरबहादुर खत्रीले बताए । आठ सय हेक्टर जग्गामा जैविक सर्टिफाइट क्षेत्र छुट्टाएर चियाखेती गरिएको उनको भनाइ छ । उनले भने, “हामीले पारिवारिक रुपबाट ८४ कृषक परिवारसँग जोडिएर काम गरेका छांै, वार्षिक २५ टन अर्गानिक चिया उत्पादन गर्दै आएको छांै, अर्गानिक चिया बनाउँदा कृषकले एक किलोको दुई हजार ५०० प्राप्त गर्छन् ।”

उनका अनुसार वार्षिक २० हजार किलो ब्राण्डेड टि विदेश निर्यात हुने गरेको छ । ब्राण्डेड चिया अमेरिका, जर्मन, फ्रान्स, चीन, थाइल्याण्ड, रुस जाने गरेको छ । इलाम नगरपालिका–ं १ को साँखेजुङमा रहेको उद्योगमा नेपाल राष्ट्रपति अवार्ड प्राप्त गर्न सफल मिलनकुमारी खत्रीले यसको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन् । उद्योगमा हाल ३५ कामदार कार्यरत छन् । महिलाको नेतृत्वमा सञ्चालित सो उद्योगले गुणात्मक जैविक चिया उत्पादन गरेर विश्व बजारमा पु-याउन सफल भएको जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083