आजबाट मौसम सुधार हुने

9.93K
shares

काठमाडौँ। 

पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083