गुल्मीका स्थानीय तहमा आफ्नै प्रहरी

5.43K
shares

तम्घास। 

गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।

जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच नगरप्रहरी नियुक्त गरेको थियो । तीमध्ये एक जनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ । प्रहरी सहायक निरीक्षकका लागि रु १५ हजार र जवानका लागि रु १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ । साथै मासिक तीन हजार रासनभत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।

“स्थानीय तहमा कामको गुणस्तर र सेवा प्रवाहलाई निकै चासोका साथ हेर्ने गरिन्छ ।” उहाँले भन्नुभयो, “सहजरूपमा सेवा प्रदान गर्न नगरप्रहरी नियुक्त गरेका छौँ ।” प्रहरी भएपछि गाउँपालिकाको प्रशासनिक कामदेखि अन्य काममा सहयोग पुगेको र केहीले रोजगारीसमेत पाएको प्रतिक्रिया पोखरेलले दिनुभयो ।

रेसुङ्गा नगरपालिकाले सात नगरप्रहरी नियुक्त गरेको छ । तीमध्ये एक हवल्दार र बाँकी छ जवान छन् । नियुक्त गरिएकामध्ये दुई महिला र पाँच पुरुष छन् । सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाइ, कार्यालय सुरक्षा, बजार अनुगमनलगायत नगरप्रहरीका मुख्य काम हुन् ।

यीबाहेक हाटबजार, कार्यालयमा सहयोगीको भूमिका खेल्ने तथा आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिनुभयो ।

नगरपालिकाले प्रहरी हवल्दारका लागि मासिक रु १५ हजार र जवानका लागि मासिक रु १३ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक वार्षिक दुई जोर कपडा र रासनभत्तास्वरुप मासिक रु तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगरप्रहरी भर्नाको प्रक्रियामा गएका छन् । इस्मा गाउँपालिकाले यही फागुन २९ गतेसम्म दरखास्त दिन सकिने गरी सूचना प्रकाशित गरेको छ । पाँच जनाका लागि खुलाइएको विज्ञापनमा एक हवल्दार र चार जवान रहनेछन् ।

हवल्दार महिला वा पुरुष जुनसुकै हुनसक्ने र जवानमध्ये महिलापुरुष दुई–दुई जना नियुक्त गरिने गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिनुभयो । कार्यालयमा काम बढी हुने जनशक्ति कम हुने भएकाले नगरप्रहरी नियुक्त गर्न लागिएको खत्रीले बताउनुभयो ।

आफ्नै गाउँमा रोजगारी

धुर्कोट गाउँपालिका–४ जैसिथोकका विष्णु पोखरेलले रोजगारीको सिलसिलामा दुई वर्ष विदेशमा सुरक्षाको काम गर्नुभयो । गत वर्ष गाउँपालिकाले नगरप्रहरीको सूचना निकाल्दा उहाँले पनि आवेदन दिनुभयो ।

सबैभन्दा उत्कृष्ट हुँदै नगर प्रहरी सहायक निरीक्षकमा काम गर्ने अवसर पाउनुभयो । बजार अनुगमन, म्याद सकिएका सामग्रीको उचित व्यवस्थापन, मदिरा नियन्त्रणलगायतका काम आफूहरुले गर्ने उहाँले बताउनुभयो ।

“काम पनि विदेशमा झैँ गाह्रो हुँदैन, आफ्नै ठाउँमा काम गर्दा आनन्द लाग्छ”, उहाँले भन्नुभयो, “समयमै स्थानीय तह गठन भएपछि अवसर प्राप्त भयो ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083