जिल्लाकै पहिलो उज्यालो गाउँपालिका

6.98K
shares

जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकाका सबै वडामा विद्युत् पु¥याउने घोषणापत्र सार्वजनिक गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेका बाँचा पूरा गर्ने योजनाअनुसार सबै वडामा विद्युत् विस्तार गरिएको उहाँले बताउनुभयो । नौ वटा स्थानीय तह रहेको डोटीका अधिकांश स्थानीय तहका वडामा विद्युत् विस्तार नभइरहेका बेला पूर्वीचौकी गाउँपालिका भने झिलिमिली भएको हो ।

गाउँपालिकाको नीति तथा नियमअनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रशारण लाइनको विद्युत् सेवा विस्तारगर्ने योजनाअनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तारभएको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको रु २८ लाख बजेट र नेपाल विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकामा विद्युत् सेवा विस्तार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उज्यालो गाउँपालिका बनाउने योजनाअनुसार गाउँगाउँमा राष्ट्रिय प्रशारणको विद्युत् पु¥याइएको छ, अहिले यहाँका गाउँ घर झिलिमिली भएका छन्, स्थानीयवासी पनि खुशी भएका छन् ।”

गाउँमा विद्युत् विस्तारको क्रम शुरु भएसँगै अहिले उक्त गाउँपालिकाका विभिन्न वडामा कुटानी, पिसानीका मिलहरु सञ्चालन गर्न अनुमतीका लागि निवेदन दर्ता गर्नेक्रम बढेको उहाँको भनाइ छ । चुनाव प्रचार प्रसारको बेला जनतासँग गरेका विकास गर्ने बाचाअनुरुप आफूले गाउँमा विद्युत् र सडक विस्तारगर्न थालेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा मैले यहाँका जनतासँग विद्युत्, सडक र खानेपानीको पहल गर्ने बाचा गरेको थिए, सोहीअनुसार क्रमिकरुपमा सबै कामको विकास गर्दैछु ।” गाउँमा विद्युत् विस्तार भएसँगै अध्यारोमा जीवन यापन गर्दै आएका सयौँ घरधुरी लाभान्वित भएको गाँउपालिकाले जनाएको छ । वर्षौदेखि सल्लाको दियालो (झुरो) र टुकीले उज्यालो बनाउँदै आएका त्यहाँका नागरिक गाउँमा विद्युत् विस्तार भएपछि निकै खुशी भएको पूर्वीचौँकी गाउँपालिका–५ चैकोटका स्थानीयवासी चक्रबहादुर कठायतले बताउनुभयो ।

गाउँपालिका भरीमा केही विकट गाउँ मानिएका धानुकाँडा, बोगटीगाउँलगायत क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तार भई सञ्चालनमा आई सकेको स्थानीयवासी बताउँछन् । उक्त गाँउपालिकाका प्रत्येक घरहरुमा चालु आर्थिक वर्षको अन्तिमसम्म विजुली बाल्ने गाउँपालिकाले योजना बनाइ सोही अनुसारको पत्राचार भएकाले विद्युत् विस्तारको काम अगाडि बढाएको साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083