अलपत्र बालबालिकाको उद्धार

10.27K
shares

काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।

काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताउनुभयो । जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताउनुभयो ।

हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083