विपन्न परिवारलाई सोलार बत्ती वितरण

उखुको मूल्य बढाउन किसानको माग

डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आउनुभएको छ । सोहीअनुसार वडाध्यक्ष विनाडीले यो वर्ष लाखौँ रकमको लगानीमा सोलार बत्ती वितरण गर्नुभएको हो ।

आफ्नो वडामा बत्ती नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी आफूले कम्तीमा पनि १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेको वडाध्यक्ष विनाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बत्ती नभएर अँध्यारोमा बसेका नागरिकको दुःख देखेर मैले वडाबाट पाउने भत्तालगायतका शीर्षकबाट आउने रकमबाट बत्ती जडान गरेको छु, अहिले १० घरपरिवारले उज्यालो पाएका छन्, मसहित उनीहरू पनि खुशी छन् ।”

वडाध्यक्ष विनाडीले सोलार बत्ती वितरण गरेपछि सो वडाका नागरिक निकै खुशी भएको स्थानीयवासी चक्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न परिवारलाई विगतदेखि खाद्यान्न, लुगाकपडासहित वितरण गर्दै आउनुभएका वडाध्यक्ष विनाडीले यो वर्ष उज्यालोका लागि सोलार वितरण गर्नुभएको छ, जो आफैँमा राम्रो काम हो ।”

सोलार जडान गरिएपछि उक्त वडाका अधिकांश घर अहिले झिलीमिली बनेको स्थानीयवासी बताउँछन् । बत्ती जडान भएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज भएको अर्का स्थानीय हर्क मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नहुँदा छोराछोरीले सल्लाको दियालो बालेर राति पढ्ने गर्दथे, मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँमा जानुपथ्र्यो, अहिले बत्ती जडान भएपछि सबै सहज भएको छ ।” सो वडामा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न सकेको छैन ।

कारागारमा बिरामी नै बिरामी
कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद काप्mलेका अनुसार नवलपुर, नवलपारसी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ । अहिले कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी छ, एचआइभी एड्स सङ्क्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, नसा, कुष्ठरोग र क्षयरोगका एक÷एक जना रहेको काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ पठाउने गरिएको उहाँले बताउनुभयो । अहिले यस कार्यालयमा क्षमता झण्डै तेब्बर कैदीबन्दी छन् ।

दुई सय ५५ जना पुरुषको क्षमता रहेको कारागारमा ६४४ पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५५ महिला र दुई आश्रित बालबालिका छन् ।

उनीहरूको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४८ लाख ७५ हजार खर्च गरेको थियो भने अहिले कोभिड–१९ सङ्क्रमणका कारण बजेट कटौती गरेको छ । अहिले उपचारका लागि रु २२ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

उखुको मूल्य बढाउन किसानको माग
जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम गर्न माग गरेका हुन् ।

केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६ र पैसा ५६ तोक्ने क्रममा उद्योगीले रु ४७१ र पैसा २८ तथा सरकारले प्रतिक्विन्टल रु ६५ रुपैयाँ २८ पैसा अनुदानस्वरुप किसानलाई उपलब्ध गराउने निर्णय गर्दै आइरहेको छ । अघिल्ला वर्षभन्दा रु ८० बढी मूल्य कायम गर्न माग गरिएको जिल्लाका किसानले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनी उद्योग सङ्घलाई बोधार्थ राखी बुझाइएको ज्ञापनपत्रमा उखु बेचिएको १५ दिनभित्र उद्योगले दिने रकम र सरकारले उपलब्ध गराउने अनुदा उपलब्ध हुनुपर्ने माग गरिएको छ ।

यस्तै उखु किसानसँग सम्बन्धित नीतिनिर्माण गर्दा किसान प्रतिनिधिलाई अनिवार्य सहभागी गराउन, अन्नपूर्ण चिनी मिललगायत केही चिनी मिलले उखु किसानलाई भुक्तानी दिन बाँकी बक्यौता तुरुन्त भुक्तानी दिलाउन, अटेर गर्ने मिल मालिकलाई कारवाही गर्न, उखुखेती गर्ने किसानलाई सुलभ ढङ्गले सहुलियतपूर्ण कर्जा व्यवस्था गर्न, उखुखेतीमा उत्पादकत्व वृद्धि गर्नका लागि गुणस्तरीय बीउ, मल, प्रविधि, सिंचाइ र औजार व्यवस्था गर्न तथा अहिलेको अवस्थामा उखुलाई जातका आधारमा मूल्यमा विभेद नगरी देशभर नै उखुको एउटै मूल्य कायम गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उपे्रती, उखु किसान हकहित समिति सर्लाहीका उपाध्यक्ष रामशरण उप्रेती, अखिल नेपाल किसान महासङ्घ सर्लाहीका उपसंयोजक रामहरि प्रसाईँ र जिल्ला उखु उत्पादक सङ्घ सर्लाहीका गोविन्द मैनालीको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उपे्रतीले बताउनुभयो ।

ज्ञापनपत्रमा दुई वर्ष अगाडि चिनीमा आत्मनिर्भर हुन लागेको देशमा आज अर्बाैँको चिनी आयात भइरहेको, पाँच महिनाभन्दा बढी समय चल्ने चिनी मिल तीन महिना पनि चल्न मुश्किल पर्न थालेको, नगदेबाली भनिए पनि बिक्री रकम लिन किसानले रोइकराई गर्नुपर्ने अवस्था रहेकामा किसानका सङ्घसङ्गठनले चिन्ता व्यक्त गरेका छन् ।

२३ मंसिर २०७७, मंगलवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु