अख्तियार प्रमुख राईसम्म पनि रकम पुर्याएको आरोपीको बयान
वि.सं.२०८० वैशाख २१ बिहीवार १४:००
shares

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हाई प्रोफाइललाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । काठमाडौं प्रहरी परिसरले बुधबार सो प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्यो ।
त्यसको एक दिनअघि मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई काठमाडौं प्रहरीको विशेष टोलीले भक्तपुरको पेप्सीकोलाबाट पक्राउ गरेको थियो । राईलाई प्रहरीले ललितपुरको ठेचोबाट पक्राउ गरेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा मुछिएका पाण्डे उच्च तहका कर्मचारी हुन् । कर्मचारीबाहेक सो प्रकरणमा राजनीतिक व्यक्तिसमेत मुछिएका छन् । ठगी प्रकरणमा जोडिएको प्रमाण भेटिएपछि एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले बुधबार साँझ नै बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
उनलाई थुनामा राख्ने अनुमति लिन काठमाडौं प्रहरीले अहिले अदालतमा पेस गर्ने तयारी गरेको छ । यस अघि प्रहरीले सो प्रकरणमा जोडिएका मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी-४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ, मोरङ पथरी–१० का सागर राई र दाङका सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो ।
उनीहरूमाथि प्रहरीले संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीको अनुसन्धान सचिवसम्म पुगेको हो । आफूहरूलाई भुटानी बनाएर अमेरिका पुर्याउने भनेर ठगी गरेको भन्दै हालसम्म १ सय ५० जनाले प्रहरीमा जाहेरी दिएका छन् ।
प्रहरीको अनुसन्धानबाट उनीहरूले ५ सय जना नेपालीहरूलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब १ अर्ब रुपैयाँ ठगी गरेको खुलेको छ । पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।
पूर्वसचिव प्रेम राईमाथि समेत सोझियो अनुसन्धान
बुधार पक्राउ परेका टेकनारायण पाण्डेलाई पक्राउ परेकाहरूको बयानकै आधार र केही प्रमाणसमेत भेटिएपछि उनी पक्राउ परेका हुन् । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृह मन्त्रालयका सचिव थिए । उनीभन्दा अगाडि गृहसचिवमा महेश्वर न्यौपाने थिए । उनी २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे ।
प्रारम्भिक अनुसन्धानबाट न्यौपानेमाथि भने कुनै प्रमाण भेटिएको छैन । हाल उनले अवकाश पाइसकेका छन् । न्यौपाने अघि गृहसचिवमा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई थिए । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । पक्राउ परेका केही आरोपीले राईमाथि समेत बयानका क्रममा संलग्नताबारे बोलेका छन् ।
पक्राउ परेका एक आरोपीले आफूले राई गृहसचिव हुँदा राई चढ्ने कारको पछाडिको डिक्कीमा नगद राखेको र त्यसपछि भेट्ने गरेको बयान दिएका छन् । यद्यपि उक्त बयानबारे प्रहरीले थप प्रमाण र तथ्य खोतल्ने प्रयास गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका टेकनारायण पाण्डे र आरोपी दुई जनाबीच भने ह्वाट्सअप मार्फत बार्गेनिङ गरेको खुलेको हो ।
‘सचिव पाण्डेसँग आरोपी केशव दुलाल र सानु भण्डारीको सम्पर्क र बार्गेनिङ नै भएको फेला परेपछि हामीले पक्राउ गरेका हौँ । बयान मात्रै नभएर हामी प्रमाण समेत खोज्दै छौँ त्यही आधारमा अरुमाथि पनि अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
राईमाथि समेत प्रहरी बयान भन्दा केही प्रमाणको खोजीमा लागेको छ । राई गृहसचिव हुँदादेखि नै भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएका हुन् ।
उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए ।































