नक्कली शरणार्थी प्रकरण : तत्कालीन गृहसचिव प्रेम राईलाई २ करोड ३० लाख रुपैयाँ बुझाएको बयान

35.69K
shares

काठमाडौँ । तत्कालीन गृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्षमा रुपमा मुछिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाल लगायले बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन्।

उनीहरुले आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएका हुन्। राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको  दाबी छ।

उनीहरुले प्रहरी समक्ष दिएको बयान उद्धृत गर्दै स्रोतले , ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखि दिएका हौँ।’

गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृहसचिव रहेका थिए। उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेका उनीहरुले राईलाई मन्त्रालय नै पुगेर नगद बुझाएको बयान दिएका हुन्।

समातिएकाहरुको बयानका आधारमा पूर्वगृहन्त्री बालकृष्ण खाँण र राष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डेलाई पक्राउ गरेर अनुसन्धानमा राखेको छ। हालसम्म खाँण, पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जना पक्राउ परिसकेका छन्।

स्रोतका अनुसार बयानमा पैसा उठाएको ८० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नसकेपछि फिर्ता गरेको बताएका छन्। रकम फिर्ता गरे पनि माथिल्लो तहमा बुझाएको रकम भने फिर्ता नपाएको बयानमा उल्लेख गरेका छन्।

शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्ने गरी प्रहरी समक्ष एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको भनेका छन्।

मानव सेवा आश्रमका लागि सहयोग स्वरुप दुई करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेका छन्। उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन्।

बयानमा आफूले कांग्रेस नेतृ आरजु राणासँग भने कुरा नगरेको बताएका छन्। स्रोतका अनुसार प्रहरीले राणासँगको सम्बन्धबारे राखेको जिज्ञासामा भनेका छन्, ‘हामीले आरजुसँग कुनै डिल गरेका छैनौँ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083