जिल्ला प्रहरी कार्यालय कास्कीकाे सफलता : मोडिफाई गरेर चलाएका ६८१ मोटरसाइकललाई कारबाही
वि.सं.२०८० फागुन २० आइतवार २३:१७
shares

कास्की । कास्कीमा मोडिफाई गरेर चलाएको आरोपमा प्रहरीले ६८१ मोटरसाइकललाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालयको टोलीले अभियान नै सञ्चालन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा मोडिफाई गरिएका मोटरसाइकल विरुद्ध कारबाही सञ्चालन गरेको हो ।
भदौ २५ देखि कारबाही गरिएका मोटरसाइकलबाट जरिवाना बापत ७ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कास्कीका एसपी मोहन थापाले बताए । स्वरूप परिवर्तन गरेर चलाइएको मोटरसाइकलहरू पटक–पटक कारबाहीमा परेमा त्यस्ता मोटरसाइकललाई प्रहरीले यातायात कार्यालय कास्कीमा पठाउने गरेको छ ।
पहिलो पटक त्रुटि फेला पारेमा चालकलाई मोडिफाई गरिएको सामान फेर्न लगाएर पुरानो स्वरूपमा फर्काएपछि प्रहरीले जरिवाना गरेर छाड्ने गरेको छ । स्वरूप परिवर्तन गरिएका ५९ थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर कारबाहीको प्रक्रियामा रहेको एसपी थापाले जानकारी दिए ।
अन्य मोटरसाइकल जरिवाना र स्वरूप पुरानो अवस्थामा फर्काएर चालकको जिम्मा लगाइएको छ ।






























