धावनमार्ग पुगिसकेको टर्किस एयरलाइन्सको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो

871
shares

काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडानका लागि तयारी अवस्थामा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट आकस्मिक रूपमा रोकिएर पार्किङ बे फर्काइएको छ ।

टीके–७२७ उडान नम्बरको उक्त जहाज आज दिउँसो १२ः३५ बजे उडान भर्ने तालिका थियो । उडानका लागि अनुमति पाएपछि जहाज धावनमार्गमा दौडिसकेको अवस्थामा ककपिटमा देखिएको ‘इन्डिकेशन’ मा समस्या देखिएपछि पाइलटले जहाज रोक्ने निर्णय गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार प्राविधिक संकेत प्रणालीमा समस्या देखिएपछि सुरक्षाका कारण जहाज तत्काल रोकिएको हो ।

‘इन्डिकेशनमा समस्या देखिएपछि धावनमार्गमा दौडिसकेको जहाज आकस्मिक रूपमा रोकिएको हो । अहिले प्राविधिक टोलीले जाँच गरिरहेको छ,’ सिटौलाले भने, ‘जाँचपछि सबै ठिक भएमा जहाज पुनः उडानमा फर्काइनेछ ।’