समयमा भुक्तानी नहुँदा स्वास्थ्य बीमा सङ्कटमा

मन्त्री गौतमद्वारा कमजोरी स्वीकार

2.82K
shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन गम्भीर चुनौती थपिएको स्वीकार गरेकी छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका समस्या र कमजोरीबारे स्पष्ट पारेकी हुन् ।

उनका अनुसार स्वास्थ्य बीमामा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग गरिनु र दाबी व्यवस्थापनमा कमजोरी देखिनु प्रमुख समस्या हुन् । ‘यी कारणले गर्दा बीमा प्रणाली सोचेजस्तो सफल हुन सकेको छैन,’ उनले भनिन् ।

मन्त्री गौतमले पदभार ग्रहण गरेकै दिनदेखि बीमा सुधारलाई प्राथमिकतामा राखे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय झमेलाले काम अघि बढाउन कठिन भएको बताइन् । यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम चरणमा पुगेको जानकारी उनले दिइन् ।

उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधारका कामहरू चुनौतीपूर्ण बनेको उल्लेख गरिन् ।

आफ्नो कार्यकालका प्राथमिकताबारे जानकारी दिँदै मन्त्री गौतमले जनयुद्धका घाइतेको उपचार, मातृ तथा नवजात शिशुको स्वास्थ्य, वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षा र औषधि प्रयोगशालाको सुधारलाई मुख्य एजेन्डा बनाइएको बताइन् ।

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी र मधेस प्रदेशमा मातृ मृत्युदर उच्च रहेकाले ती क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरिएको पनि उनले जानकारी दिइन् ।

‘आगामी दिनमा स्वास्थ्य प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाएर जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गरिनेछ,’ मन्त्री गौतमले प्रतिबद्धता जनाइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083