रामेछाप बस दुर्घटनामा मृतक संख्या १० पुग्यो

तामाकोशी नदीमा खसेको बसका चालकसहित दर्जनौँ घाइते

1.3K
shares

रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । मंगलबार दिउँसो मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा १० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थलबाट एक जना अचेत अवस्थामा उद्धार गरिएको छ भने अर्का एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिँदैछ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । तीमध्ये तीन जनालाई धुलिखेल अस्पताल र अन्यलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित सडकबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट परिचालित टोलीले उद्धार कार्य गरेको थियो ।

दुर्घटनामा बसका चालक पनि घाइते भएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।