लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र उत्कृष्ट घोषित

2.25K
shares

भैरहवा १ फागुन  । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र देशभरका प्रहरी तालिम केन्द्रमध्ये उत्कृष्ट तालिम केन्द्रको रूपमा छनोट हुन सफल भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागंजले देशभर सञ्चालनमा रहेका प्रहरी तालिम केन्द्रहरूको कार्यसम्पादन, व्यवस्थापन, अनुशासन, तालिमको गुणस्तर, पूर्वाधार विकास तथा प्रशासनिक दक्षताको आधारमा गरेको मूल्याङ्कनपछि बुटवलस्थित उक्त केन्द्रलाई उत्कृष्ट घोषित गरेको प्रहरी प्रधान कार्यालय ले जनाएको छ ।
नेपाल प्रहरीको कार्ययोजना २०८० अन्तर्गत संगठन प्रमुख र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकबीच भएको कार्यसम्पादन सम्झौता २०८२ को मापदण्डअनुसार गरिएको छनोट प्रक्रियामा उत्कृष्ट ठहरिएपछि केन्द्रलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागंजको ७० औँ वार्षिक उत्सव २०८२ को विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौर लाई उत्कृष्ट तालिम केन्द्रको प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले संगठनलाई दक्ष, अनुशासित र जनउत्तरदायी बनाउने दिशामा तालिम केन्द्रहरूको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो । उक्त समारोहमा नेपाल प्रहरीमा दीर्घकालीन योगदान पु¥याउनु भएका अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरी लाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै, दक्ष तथा व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै नेपाल प्रहरी शिक्षालय भरतपुर का समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा लाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ शिल्डसहित प्रशंसापत्र प्रहरी महानिरीक्षक कार्की द्धारा प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा (२०८२)’ को लोकार्पण गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुभयो । साथै प्रतिष्ठानमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरूङलाई विशेष सम्मान प्रदान गरिएको थियो ।समारोहमा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह ले धन्यवाद  ज्ञापन गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त उच्च अधिकारीहरू, एमपिएस कार्यक्रमका सल्लाहकार, सशस्त्र प्रहरीका प्रतिनिधि, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।