वाचा पूरा नगर्नेले सजाय पाउँछ, जनताले होइन : रवि लामिछाने
वि.सं.२०८२ फागुन ६ बुधवार १८:२२
shares

काठमाडौँ । रवि लामिछानेले आफूहरूले जनतासँग गरेको वाचा पूरा नगरे सजाय आफूहरूले नै भोग्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले धनगढीमा आयोजित कार्यक्रममा बोल्दै पाँच वर्षको स्थायी सरकारका लागि आफूहरूले जनतासँग करार गरेको बताए।
धनगढीमा सम्बोधन गर्दै उनले भने, “वाचा जसले गरेको हो, पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो, जनताले होइन।” उनले सुदूरपश्चिमका धेरै नागरिक भारतमा काम गर्न बाध्य भएको स्मरण गर्दै परदेशमा काम गर्नु सहज नभएको उल्लेख गरे।
लामिछानेले विगतमा सधैं नेताले जित्ने र जनताले हार्ने अवस्था रहेको भन्दै यसपटक त्यो प्रवृत्ति बदल्ने दाबी गरे। “यसपाला जनताले जित्ने हो,” उनले भने।
उनले आफ्नो पार्टी इतिहास बदल्ने लक्ष्यसहित आएको बताउँदै मत नबाँड्न मतदातासँग आग्रह गरे। साना मुद्दामा अल्झन नभई समग्र प्रणाली परिवर्तनका लागि आफूहरू अघि बढेको उनको भनाइ थियो।
सिंहदरबार बनाउने भन्दा त्यसलाई बदल्न आवश्यक रहेको उल्लेख गर्दै उनले आफूहरू ‘बनाउन आएको शक्ति’ भएको दाबी गरे। भ्रम फैलाउनेहरू सक्रिय भएको आरोप लगाउँदै उनले प्रश्न गरे, “३५ वर्षसम्म हाम्रो सपनाको डोजर कसले चलायो?” उनले अन्त्यमा आफूहरू देश निर्माणका लागि आएको दोहोर्याए।
































