लामिछानेको आरोपप्रति पूर्व सभामुख घिमिरेको आपत्ति : ‘माइक काट्ने विषय सभामुखको व्यक्तिगत निर्णय होइन’

1.44K
shares

१२ फागुन, झापा । देवराज घिमिरेले रवि लामिछानेले आफूमाथि लगाएको आरोपप्रति आपत्ति जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बिर्तामोडमा दिएको अभिव्यक्तिमा आफू सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटिएको आरोप लगाएका थिए। सो आरोपको खण्डन गर्दै निवर्तमान सभामुख घिमिरेले यस्तो टिप्पणी तथ्यहीन भएको बताएका हुन्।

घिमिरेले लोकतान्त्रिक अभ्यासमा दल र उम्मेदवारले आफ्ना योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत आरोप र घृणाको राजनीति दीर्घकालीन रूपमा टिक्न नसक्ने बताए। उनले संसदमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संसदीय नियमावलीअनुसार समय व्यवस्थापनका कारण माइक काटिने प्रक्रिया सामान्य भएको स्पष्ट पारे।

“माइक काट्ने विषय सभामुखको व्यक्तिगत विचार होइन, संसदको नियम र समय व्यवस्थापनसँग जोडिएको प्रक्रिया हो,” उनले भने, “संसदको अभिलेख हेर्दा म मात्र होइन, उपसभामुख वा सभाको अध्यक्षता गर्ने अन्य सदस्यका पालामा पनि यस्तो भएको देखिन्छ।”

लामिछानेको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै घिमिरेले आफू प्रत्यारोपमा नउत्रिने र आक्षेप तथा अफवाहको राजनीतिबाट टाढा रहने बताए। उनले झापा–२ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको उल्लेख गर्दै प्रतिस्पर्धीबारे टिप्पणी नगर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए।