सिरहामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

312
shares

सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मंगलबार बिहान करिब १० बजे गोलबजारबाट लहानतर्फ जाँदै गरेको ना १ क ९२२८ नम्बरको टिपरले सोही दिशामा पैदल हिँडिरहेका उदयपुरको कटारी नगरपालिका–१ निवासी करिब ५० वर्षीय समजित राईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका राईको पेट तथा दुवै हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएकोमा बिहान ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार घटनामा संलग्न टिपर र चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ निवासी ४६ वर्षीय प्रविन सिंह क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।