सिन्धुपाल्चोकको हेली रिसोर्टमा अपराध अनुसन्धान कार्यालयको टोली

416
shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मंगलबार सिन्धुपाल्चोकको भोटेकोशीस्थित हेली रिसोर्ट एण्ड स्पामा पुगेर केही डिजिटल डिभाइस बरामद गरेको छ।

काठमाडौं उपत्यकाभित्रका अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको कार्यालयको टोली सिन्धुपाल्चोक पुगेपछि घटनाबारे चासो बढेको थियो। प्रहरीले भने एक चिनियाँ महिला लुटिएको घटनाको अनुसन्धानका लागि टोली खटाइएको जनाएको छ।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार करिब १५ दिनअघि एक चिनियाँ महिलाले आफू उक्त रिसोर्टमा लुटिएको भन्दै उजुरी दिएकी थिइन्।

प्रहरीका अनुसार महिलाले आफूसँग रहेको ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, केही अमेरिकी डलर, आइफोन तथा ल्यापटप लुटिएको दाबी गरेकी छन्।

घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले रिसोर्टसँग केही डिजिटल सामग्री र डिभाइस माग गरेको थियो। तर माग गरिएका सामग्री उपलब्ध नगराएपछि अनुसन्धान टोली प्रत्यक्ष रूपमा रिसोर्टमै पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित महिलाले फागुनको अन्तिम सातातिर रिसोर्टमा आफू लुटिएको र व्यवस्थापनलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको बताएकी छन्। आफ्ना सामानबारे पटक–पटक सोधपुछ गर्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर उजुरी दिनुपरेको उनको भनाइ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको जाहेरी ढिलो आउनुको कारण रिसोर्टका कर्मचारीले ‘काम हुँदैछ’ भन्दै पीडितलाई लामो समय झुलाएको हुन सक्ने जनाएको छ।

एसएसपी खड्काले घटनासँग सम्बन्धित सामग्री माग्दा उपलब्ध नभएकाले अनुसन्धानका लागि रिसोर्टमै पुगेर डिजिटल डिभाइस बरामद गर्नुपरेको बताए।


unigloble collage
baneshwor multiple campus ad -2083