मूल्य घटेपछि पेट्रोल पम्पमा इन्धन अभाव

निगमले अनुगमनका लागि तीन टोली परिचालन

715
shares

 

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि केही पेट्रोल पम्पले इन्धन नउठाउँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलको आपूर्तिमा अस्थायी समस्या देखिएको छ। धेरै पम्पले ‘पेट्रोल छैन’ भन्दै सेवा बन्द गरेपछि नेपाल आयल निगमले अनुगमनलाई तीव्र बनाएको हो।

नेपाल आयल निगमले मंगलबार स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ३० रुपैयाँले घटाएको थियो। मूल्य समायोजनको पूर्वानुमान भएपछि केही व्यवसायीले पुरानो मूल्यमा इन्धन खरिद गर्दा घाटा हुने आशंकाले डिपोबाट तेल नउठाएको निगमको भनाइ छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार यही कारण केही क्षेत्रमा पेट्रोल वितरण प्रभावित भएको हो। उनले अहिले डिपोमा पर्याप्त इन्धन मौज्दात रहेको र मागअनुसार आपूर्ति भइरहेको बताए।

बजारमा अभावको अवस्था देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा अनुगमन टोली परिचालन गरेको छ। टोलीले इन्धन वितरण नगरेका वा अनावश्यक रूपमा पम्प बन्द गरेका स्थानको निरीक्षण गरिरहेको छ। अनुगमनका क्रममा नियमविपरीत सेवा बन्द गरेको पाइए आवश्यक कारबाही गरिने निगमले जनाएको छ।

उपत्यकाबाहिर पनि प्रादेशिक कार्यालयमार्फत अनुगमनलाई सक्रिय बनाइएको छ। निगमका अनुसार केही समय देखिएको असहज अवस्था चाँडै सामान्य हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय घट्दो क्रममा रहेकाले त्यसको प्रभावस्वरूप नेपालमा पनि इन्धनको मूल्य घटाइएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083