आत्महत्या रोकथाम तथा मनोपरामर्श एवं मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा "आत्महत्या रोकथाम तथा मनोपरामर्श एवं मानसिक स्वास्थ्य सचेतना कार्यक्रम" सम्पन्न

520
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा तथा National Solution and Research Centre (NSRC) को सहकार्यमा “आत्महत्या रोकथाम तथा मनोपरामर्श एवं मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” सम्पन्न भएको छ।

विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता तथा अन्य मनोसामाजिक समस्याप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष भुमिराज अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको उपस्थिति रहेको थियो।

कार्यक्रममा NSRC का प्रशिक्षक डा. रुजा श्रेष्ठ र पवन पौडेलले मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या, आत्महत्या रोकथाम, समयमै मनोपरामर्शको आवश्यकता तथा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकासका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा स्ववियु अध्यक्ष भुमिराज अधिकारीले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई लुकाएर होइन, खुलेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीको मानसिक स्वास्थ्य संरक्षणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह प्राथमिकतामा राख्नुपर्ने र आवश्यक पर्दा मनोपरामर्श लिन हिच्किचाउन नहुने बताउनुभयो।

प्रमुख अतिथि क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनसँगै आफ्नो मानसिक स्वास्थ्यप्रति पनि उत्तिकै सजग रहनुपर्ने बताउनुभयो। उहाँले तनाव वा समस्यामा परेका बेला एक्लै सहेर बस्नुभन्दा परिवार, शिक्षक, साथीभाइ वा योग्य मनोपरामर्शदातासँग खुलेर संवाद गर्नुपर्नेमा जोड दिनुभयो। साथै, यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र सहयोग खोज्ने संस्कृतिको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा स्ववियुलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक–शिक्षिका, स्ववियु पदाधिकारी सदस्य तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।


divya collage
unigloble collage