एसएसपी सुरेश काफ्लेद्वारा ट्राफिक नियन्त्रण तालिमको समापन तथा प्रमाणपत्र वितरण
वि.सं.२०८३ साउन ६ बुधवार २०:२८
shares

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम (१५६औँ समूह) सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबार आयोजित विशेष समारोहमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा तालिमको औपचारिक समापन गरिएको हो।
कार्यक्रमका क्रममा एसएसपी काफ्लेले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिमबाट हासिल गरेको ज्ञान, सीप र व्यावसायिक दक्षतालाई कार्यक्षेत्रमा इमान्दारी, अनुशासन र जिम्मेवारीका साथ प्रयोग गर्न निर्देशन दिनुभयो।
उहाँले ट्राफिक प्रहरीको सानो त्रुटिले पनि सडक दुर्घटना, सवारी जाम तथा नागरिकको सुरक्षामा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै नागरिकलाई सहज, सुरक्षित र अनुशासित ट्राफिक व्यवस्थापनको अनुभूति गराउने गरी उच्च व्यावसायिकता र त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा ट्राफिक प्रहरीका अधिकृत, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





















