परपुरुषसँग बोलेको भन्दै बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजुसहित चार जना पुर्पक्षका लागि जेल चलान

611
shares

रूपन्देही। मर्चवारी गाउँपालिका–७ निवासी लक्ष्मीना केवटमाथि भएको निर्घात कुटपिट प्रकरणमा संलग्न चार जना आरोपितलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

गत जेठ २८ गते खेतमा पानी लगाउन गएकी लक्ष्मीना केवटले परपुरुषसँग कुरा गरेको आरोप लगाउँदै आफ्नै परिवारका सदस्यहरूले उनीमाथि निर्घात कुटपिट गरेका थिए। घटनापछि पीडित पक्षको जाहेरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रामनयन केवट, रामसमुज केवट, रामकेवल केवट र त्रिभुवन केवट घटनापछि केही समय फरार रहेका थिए। पछि प्रहरीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले करिब एक महिनाभन्दा बढी समय लगाएर घटनाको विस्तृत अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामाथि भएको थुनछेक बहसपछि अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म चारै जना आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

पीडित लक्ष्मीना केवटको भैरहवास्थित भीम अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार तथा मनोसामाजिक परामर्श गरिएको थियो। अस्पताल ल्याउँदा उनको शरीरमा कुटपिटका गम्भीर निलडाम तथा घाउचोट देखिएको चिकित्सकहरूले बताएका थिए।

रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार अदालतको आदेशपछि चारै जना आरोपितलाई कारागार पठाइसकिएको छ। घटनासम्बन्धी बाँकी कानुनी प्रक्रिया भने नियमानुसार अगाडि बढिरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage