इजरायल र हमासले गाजामा युद्धविराम गर्न मानेनन्

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १७:३०
shares

काठमाडौं । गाजामा इजरायल र प्यालेस्टाइनी लडाकूहरूको युद्ध चर्किएको छ । उनीहरूले एकअर्कामाथि लगातार बम प्रहार गरिरहेका छन् र प्रत्याक्रमणको शृंखला नै चलाएका छन् । आइतवार साँझ इजरायली विशेष बलहरूले गाजाभित्र रेड हानेपछि भड्किएको हिंसा चर्किंदै गएको हो ।
इजरायल र गाजाका हमास शासकबीचको मध्यस्थकर्ताका रूपमा संयुक्त राष्ट्रसंघ र इजिप्टलाई हम्मेहम्मे परिरहेको छ । उनीहरूले युद्धविराम गराउन सकेका छैनन् । लगातार रकेट प्रहार भइरहँदा इजरायली सर्वसाधारण राति शिविरहरूमा लुकेका छन् भने हवाई आक्रमणबाट बच्न प्यालेस्टाइनीहरू घरमुनि लुकेका छन् ।
इजरायली सेनाले सोमवारदेखि ४०० रकेट र मोर्टार गाजाबाट प्रहार गरिएको र आफ्ना युद्धविमानहरूले १०० भन्दा बढी बम प्रहार गरेको जनाएको छ । गाजामा रहेका स्वास्थ्यकर्मीहरूले पाँचजना मारिएको र तीमध्ये दुईजना लडाकू रहेको बताए । इजरायलको तटीय शहर आश्केलोनमा ४० वर्षीय एक नागरिक भवनमा रकेट लागेपछि मारिए ।