आङसान सुकीको दोस्रो नेपाल भ्रमण भनिए पनि उनी, छोरा भेट्न पटक-पटक नेपाल आइरहन्थिन्
वि.सं.२०७५ मंसिर १३ बिहीवार १२:५४
shares

काठमाडौं । परराष्ट्रमन्त्रीको हैसियतमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर एसिया प्यासिफिक समिटको सिलसिलामा बिहीबार विहान काठमाडौंं आइपुगेकी छन्। बिगत चार बर्ष यता उनको यो दोस्रो नेपाल भ्रमण हो।
धेरैलाई थाहा नहुनसक्छ, त्यस भन्दा पहिलेपनि सुकी पटक पटक नेपाल आइरहन्थिन्। उनको नेपाल आगमन किशोरवस्था देखि नै सुरु भएको हो। बीपी कोइराला प्रधानमन्त्री छँदा उनी पहिलो पटक नेपाल आएकी थिइन्।
सुकीकी आमा खिन यी भारत र नेपालका लागि राजदूत थिइन्। नेपालका लागि गैरआवासीय राजदूत रहेकाले उनी खिन यी नयाँदिल्लीमा बस्थिन्। र, किशोरी सुकी पनि सँगसँगै आमासँगै नयाँदिल्लीमा रहन्थिन्।
नयाँदिल्लीमा बसेपनि राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाउने सिलसिलामा आमा खिन यीसँगै सुकी सन् १९६० मा पहिलो पटक नेपाल आइन्। कुटनीतिक कामको सिलसिलामा आमा खिन नेपाल आउँदा सुकीपनि सँगै हुन्थिन्।
युवाअवस्थामा पुगेपछि सुकीको विहे बेलायती नागरिक माइकल एरिससँग भयो, सन् १९७२ मा। एरिस हिमालय क्षेत्र संस्कृति र राजनीतिको अध्येता थिए। उनी बरोबर नेपाल, सिक्किम, भूटानको भ्रमण गरिरहन्थे। उनको केन्द्र नेपाल थियो।
त्यसैले, एरिससँगको विहेपछि सुकीपनि पति एरिससँगै नेपाल आइन्। उनले लामो समय यहीँ बिताइन्। बिहेको केही समयपछि एरिस–सुकीको जेठा अलेक्जेण्डर एरिस लण्डनमा जन्मे। तर, उनको हुकाई नेपालमा भयो।
जेस्पर बेङटस्सनद्वारा लिखित ‘आङ सान सु कीः अ बायोग्राफी’ मा सुकी छोरा अलेक्जेण्डरलाई खेलाइरहेको एउटा तस्वीर प्रकासित छ। सन् १९९१ मा ‘फ्रिडम फ्रम फियर’ मा समेत प्रकासित सो तस्वीर काठमाडौँमा खिचिएको थियो।
काठमाडौँमा रहँदा सुकी ठमेलमा बस्थिन् भने उनको अधिकांस समय नजिकै रहेको नःघलस्थित धर्मकीर्ति विहारमा बित्थ्यो। विहारकी प्रमुख रहेकी सुकीले भिक्षुणी धम्मावतीसँग बुद्धधर्मसम्बन्धी शिक्षा ग्रहण गरिन्।
सो विहारमा बुद्धधर्म सम्बन्धी शिक्षाका लागि स्थानीय किशोर(किशोरीहरु पनि आउँथे। अंग्रेजी राम्रो भएकी सुकीले ती विद्यार्थीलाई अंग्रेजी पढाउन इच्छा व्यक्त गरिन्, धम्मावतीले उनलाई अनुमति दिइन्। त्यहाँ उनले एक महिना अंग्रेजी पढाइन्।
सुकीसँग अंग्रेजी पढ्नेमध्येका एक थिए, चिनिकाजी महर्जन ९५५ बर्ष०। १२ बर्षको छँदा सुकीको विद्यार्थी बनेका महर्जनका भनाईमा, सुकीले यति राम्रोसँग अंग्रेजी पढाइन् कि, कलेजस्तरको पढाईसम्मपनि उनी कहिल्यै अंग्रेजीमा अनुतीर्ण हुनु परेन।

सुकीकी गुरुआमा धम्मावती र विद्यार्थी चिनिकाजी महर्जन
विद्यावारिधीको सिलसिलामा अध्ययनका लागि नेपाल आएका पति एरिसको अध्ययन सकिएपछि उनी पनि पतिसँगै लण्डन फर्किन्।
तर, आमा खिन यीको स्वास्थ कमजोर हुँदै गएपछि सन् १९८८ मा बेलायतबाट बर्मा फर्किन्। आमाको हेरचाहका लागि बर्मा फर्केकी सुकी बर्मा पुगेको केही महिनापछि सैनिक सरकारविरुद्ध आन्दोलन सुरु भयो। त्यसको नेतृत्व सुकीले नै गरेकी थिइन्।
आफ्नै नेतृत्वमा नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० स्थापना गरेर उनी राजनीतिमा होमिइसकेकी थिइन्। आन्दोलनका कारण सरकार त्यहाँ संसदीय चुनाव गराउन बाध्य भयो। निर्वाचनमा सुकी नेतृत्वको ‘एनएलडी’ ले विजय हासिल गर्यो।
दुई तिहाई मत ल्याएर सुकीको दल निर्वाचनमा विजयी भयो। तर, सैनिक सरकारले उनलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्यो। निर्वाचनकी बिजेता सुकीलाई सैनिक सरकारले नजरबन्दमा राख्यो। उनले झण्डै साढे दुई दशक नजरबन्दमा बिताइन्।
नजरबन्दमा रहेपनि नेपालसँगको उनको नाता भने कायम रहिरह्यो।

नजरबन्दमा रहेका बेला धम्मावती बसिरहेका भिक्षुणीहरुको बीचमा लगायतसँग सुकी
बौद्ध धर्मावलम्बीमाझ धम्मावती नेपालमा मात्र होइन, बर्मामा पनि उत्तिकै सम्मानित थिइन्। भिक्षु धम्मावती बरोबर बर्मा गइरहन्थिन्। सुकीसँगको भेटका लागि बर्माको तत्कालिन सरकारले पनि कुनै रोकतोक गर्दैनथ्यो।
नजरबन्दमा रहेकी सुकी गुरुमा धम्मावतीसँगको कुराकानीमा आफ्नो मनको कुरा खोल्थिन्। आफ्ना कठिनाईबारे बताउँथिन्। नेपालबारे सोधिरहन्थिन्।
सुकी नजरबन्दमा रहेकै बेला पति एरिसको निधन भएको थियो। छोराहरु लण्डनमै थिए। उनीहरुलाई बर्मा जाने अनुमति थिएन। पतिको निधन, छोराहरुसँगको विछोड र कठोर नजरबन्द( सुकीको जीवन साँच्चिकै पट्ट्यार लाग्दो थियो।
चार बर्षअघिको भेटमा धम्मावतीले सुकी नजरबन्दमा रहँदा उनले भनेका कुरा उध्दृत गर्दै सुनाएकी थिइन्, ‘सैनिक शासनका कारण यदि बर्मामा रहन नसक्ने भएँ भने बाँकी जीवन बिताउन मेरो रोजाई नेपाल हुनेछ। काठमाडौँमा घर किनेर ढुक्कसँग बस्ने मन छ।’

सुकीले लेखेको पुस्तक
नेपाल र काठमाडौँसँग सुकीको भावनात्मक सम्बन्धको परिणाम थियो, उनको यो अभिव्यक्ति। नेपालप्रतिको मायाँ र विश्वास उनले शब्दमा मात्र उतारेकी थिइनन उनले। मायाँ र विश्वासलाई उनले कृतिकै रुपपनि दिएकी थिइन्।
त्यसको प्रमाण हो, उनीद्वारा लिखित पुस्तक ‘लेट्स भिजिट नेपाल।’ पति माइकल एरिसले खिचेका रंगीन तस्वीरहरुमा शब्द भरेर तयार पारिएको ९० पृष्ठको पुस्तकमा नेपालको इतिहास, नेपालको संस्कृति र यहाँको जनजीवनबारे रोचक बर्णन छ।
नेपालखबर बाट साभार















