न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

4.93K
shares

वेलिङ्गटन, न्यूजिल्याड । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ। सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन्।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ। फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ।

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन। यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ। न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ।