मोदीविरुद्ध ‘मुर्दावाद’को नारा नलगाउन कार्यकर्तालाई राहुल गान्धीको निर्देशन
वि.सं.२०७५ माघ २४ बिहीवार १३:२८
shares

एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीका कार्यकर्ताहरूलाई राजनीतिक प्रतिद्वन्दीविरुद्ध ‘मुर्दावाद’को नारा नलगाउन निर्देशन दिएका छन्। भारतमा अबको केही महिनाभित्र लोकसभा निर्वाचन हुन गइरहेको छ।
उक्त चुनावमा राहुल गान्धीलाई प्रधानमन्त्रीको प्रतिस्पर्धीका रूपमा हेरिएको छ। राहुल गान्धीले आफूलाई भड्काउ भाषण दिने र विपक्षीमाथि अनावश्यक आक्षेप लगाउनबाट बचाउँदै आएका छन् र कार्यकर्ताहरूलाई पनि समाजलाई अपाच्य हुने नारा नलगाउन भनेका हुन्। उडिसास्थित राऊरकेलामा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुलले खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ‘मुर्दावाद’को नारा नलगाउन कार्यकर्ताहरूलाई भनेका थिए। राहुलले प्रधानमन्त्री मोदीको नाम लिँदाखेरि कार्यकरताहरूले ‘मुर्दावाद’ भनेपछि उनले कार्यकर्ताहरूलाई रोकेका हुन्।
राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई माया र स्नेहले पराजित गर्न कार्यकर्तालाई भनेका थिए। राहुलले कार्यक्रममा भनेका थिए, ‘यो शब्द (मुर्दावाद) भाजपारआरएसएस (भाजपा निकट हिन्दु संगठन) का मान्छेले प्रयोग गर्छन्। हामी कांग्रेसी यस्ता शब्दको प्रयोग गर्दैनौँ किनकी हामी माया र स्नेहमा विश्वास गर्छौँ।’
उक्त कार्यक्रममा राहुलले प्रधानमन्त्री मोदीमा परिवर्तन आएको र चारैतर्फबाट घेरिएको बताएका थिए। राहुल गान्धीले सन् २०१८ को जुनमा लोकसभामा मोदीविरुद्धको अविश्वासको प्रस्तावमाथि चर्चा गर्दै आफूभित्र प्रधानमन्त्री मोदीप्रति कुनै रिसराग नभएको बताएका थिए। उनले त्यहाँ प्रधानमन्त्री मोदीलाई अंगालो मारेका थिए।





















