शमिमा बेगमलाई नागरिकको मान्यता दिन बंगलादेशद्धारा अस्वीकार

4.16K
shares

ढाका । १५ वर्षको उमेरमा बेलायतबाट इस्लामिक स्टेटमा सहभागी हुन सिरिया पुगेकी शमिमा बेगमको ब्रिटिश नागरिकता बेलायत सरकारले बुधवार रद्द गरेको थियो।

बंगलादेशी आमा बुवा भएको कारण बेगमले अरु देशको नागरिकता लिन सक्ने भन्दै बेलायतले उनको नागरिकता रद्द गरेको जनाइएको थियो। ब्रिटिश कानुन अनुसार आफ्ना नागरिकको सुरक्षाका लागि कसैको नागरिकता रद्द गर्न सकिने प्रावधान छ। यस्तै कोही व्यक्ति राज्यविहीन बन्दैन भने पनि नागरिकता रद्द गर्न सकिन्छ। बेगमको हकमा उनको अभिभावक बंगलादेशी भएकाले राज्यविहीन हुनु नपर्ने तर्क दिइएको थियो।

तर बंगलादेशले बेगमलाई आफ्नो देशको नागरिकको रुपमा स्वीकार नगर्ने बताएको छ। शमिमा बेगम बंगलादेशी नागरिक नभएकाले उनलाई बंगलादेशमा प्रवेश गर्न दिने प्रश्न नै खडा नहुने बंगलादेशका विदेश राज्य मन्त्री शहरिर अलमले बताए। दोहोरो नागरिक्ता लिएको भन्दै गलत तरिकाले बेगमलाई बंगलादेशको नागरिकको रुपमा बेलायतले प्रस्तुत गर्न खोजेकोमा उनले चिन्ता व्यक्त गरे।

विदेश मन्त्रालयले बेगम जन्मदेखि नै ब्रिटिश नागरिक रहेको र दोहोरो नागरिकताको लागि कहिल्यै निवेदन नदिएको र बंगलादेश भ्रमण पनि नगरेको जनाएको छ।

नागरिकता रद्द गरेपछि प्रतिक्रिया दिँदै बेगमले पनि आफूसँग बंगलादेशी नागरिकता नभएको र कहिल्यै बंगलादेश नगएको बताएकी थिइन्। आफ्नो नागरिक्ता खोसिए पछि बेगमले बेलायती सरकारलाई त्यस्तो गर्ने अधिकार नभएको बताउँदै बेलायती सरकारको कदम विरुद्ध कानूनी उपचार खोज्ने बताएकी थिइन्।

केही हप्ताअघि मात्रै इस्लामिक स्टेटको प्रभावशाली क्षेत्र मानिएको बगुजबाट भाग्दै बेगम सिरियाली शरणार्थी शिविरमा पुगेकी थिइन्। हाल १९ वर्ष पुगेकी बेगमले उक्त शिविरमा केही हप्ता अघि मात्रै छोरालाई जन्म दिएको बताइएको छ। आइएस लडाकुसँग विवाह गरेकी बेगमले यसअघि दुई सन्तान गुमाइसकेकी छिन्। त्यसैले यो बच्चालाई सुरक्षित भविष्य दिन चाहिरहेको उनले बताएकी थिइन्।

सन्तान जन्मेपछि सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै बेगमले आफू बेलायत फर्कने इच्छा व्यक्त गरेकी थिइन्। उनले आफू इस्लामिक स्टेटको ‘पोस्टर गर्ल’ बन्न नचाहेको भन्दै आफ्नो सन्तानलाई बेलायतमा हुर्काउने इच्छा रहेको सार्वजनिक गरेकी थिइन्।

बेगमले बेलायत फर्कने इच्छा व्यक्त गरेपछि उनको परिवारले उनलाई बेलायत फर्काउन सरकार समक्ष आग्रह गरेको थियो। तर बेलायती सरकारले उल्टै बेगमको नागरिकता नै रद्द गरिदिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083