भारतको ‘अनावश्यक आक्रमण’को जवाफ आफ्नो रोजाईको स्थान र समयमा दिने पाकिस्तानको दाबि
वि.सं.२०७५ फागुन १४ मंगलवार १७:०३
shares

एजेन्सी । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले ठाडै अस्वीकार गरेको छ।
भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको पाकिस्तानको ठहर छ। साथै उसको आफ्नो रोजाईको स्थान र समयमा जवाफ दिइने समेत बताएको छ। भारतीय वायुसेनाले मंगलबार विहान (एलओसी) पार गर्दै बालाकोट नजिकै बम खसालेको थियो।
सुरुमा पाकिस्तानी सेनाले यस बारे सूचना दिएको थियो। उसको दाबी छ कि भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेपछि पाकिस्तानी सेनाले जवाफी कारबाही गरेको थियो र भागने क्रममा केही बम खसाले पनि कुनै क्षती भएन।
तर, भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश-ए-मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ।
घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ। बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय क्षति भएको दाबी खारेज गर्छौं।’
यसको पुष्टि गराउन पाकिस्तान सरकारले स्थानीय र अन्तराष्ट्रिय सञ्चार माध्यमलाई घटनास्थलमा लैजाँदैछ। साथै भारतीय ‘अनावश्यक आक्रमण’को जवाफ आफ्नो रोजाईको स्थान र समयमा दिने बताएको छ।
बैठक पछि विदेशमन्त्री शाह मोमम्मद कुरैशीले भनेका छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पुरा गर्न अविश्वसनीय र मनगढंते दाबी गरेको छ। यो आफ्नो घरेलु आवश्यकता पुरा गर्न गरिएको हो किनकी माहौल चुनावको छ र यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा राखिएको छ।’
प्रधानमन्त्री खानले पाकिस्तानी सेनाको सबै अंग र आम नागरिकलाई कुनै पनि स्थितिका लागि तयार रहन भनेका छन्। त्यहाँका विदेशमन्त्री कुरैशीले भनेका छन्, ‘यो पाकिस्तान विरुद्धको आक्रमण हो र पाकिस्तानले जवाफ दिनेछ।’































