ब्रेक्जिटलाई पछि सार्ने बिषयमा संसदबाट निर्णय लिइने : प्रधानमन्त्री मे
वि.सं.२०७५ फागुन १५ बुधवार ११:०३
shares

लण्डन। आफूले यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने बिषयमा निर्णय लिन आफूले संसदको सहारा लिने प्रधानमन्त्री थेरेसा मे ले मङ्गलबार बताएकी छन्।
“यदि ती दुबै विकल्पहरू अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसदमा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्र्न मतदानमार्फत सांसदहरूबाट अनुमति लिने निर्णय मेरो रहेको छ,” प्रधानमन्धी मेले भनिन्।
उनले भनिन्, बहिर्गमन प्रक्रियामा हुने ढिलाई आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिनेछ। युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने उनले दुई दिन पहिले बताएकी थिइन्।
प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गरिनेछ।































