हप्तामा चार दिन काम, छ घन्टामात्र गर्ने प्रस्ताव

२०७६ पुस २१ सोमवार
3.3K
shares
काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक छ घन्टामात्र काम गर्ने प्रस्ताव ल्याएकी छन् । फिनिस नागरिकले आफ्ना परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन् ।
आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै केहीदिनअघि मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन । म विश्वास गर्छु कि हरेक मान्छेले आफ्नो परिवार, प्रियजन, जीवनमा गर्न चाहेको र जीवनका अन्य संस्कृतिजस्ता पक्षमा धेरै समय बिताउन योग्य छन्, मरिनले भनेकी छन्, यो कामकाजी जीवनका लागि अर्को कदम हुनेछ ।
यसअघि फिनल्यान्डकी यातायात मन्त्री हुँदा नै मरिनले कामदारबीचको सम्बन्धलाई सुधार गर्न र कामको उत्पादन बढाउन हप्तामा चार दिन र दैनिक छ घन्टा काम गर्ने प्रावधानको पक्षमा लबिङ गरेकी थिइन् । अहिले फिनल्यान्डमा हप्ताको पाँच दिन दैनिक आठ घन्टा काम गर्नु पर्ने प्रावधान छ ।
फिनल्याण्डको छिमेकी स्विडेनमा सन् २०१५ देखि दैनिक छ घन्टा काम गर्ने व्यवस्था लागू भइसकेको छ । दैनिक छ घन्टा काम गर्ने व्यवस्थापछि स्विडेनका जनता र कामदार खुसी र धनी भएको डेली मेलको समाचारमा उल्लेख छ । कामदारको खुसीमात्र होइन स्विडेनमा उत्पादनसमेत बढेको छ ।
गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डकी प्रधानमन्त्री बनाएको थियो । उनी प्रधानमन्त्री भएसँगै विश्वकै कान्छी प्रधानमन्त्री भन्दै चर्चामा आएकी थिइन् । फिनल्यान्डमा पाँच दलको गठबन्धनको सरकार बनेको छ । मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन् । मरिनले आफ्नो राजनीतिक यात्रा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भई २७ वर्षमा सुरू गरेकी थिइन् ।

२०७६ पुस २१ सोमवार