रसायन कारखानामा ग्यास चुहिँदा १० जनाको मृत्यु

8.33K
shares

बेइजिङ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

घटना बिहीबार अपराह्न इनर मंगोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले जनाएको छ ।

ग्यास चुहिएर बिरामी परेका एकजनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो ।सीसीटीभीले मृतकको संख्या बढ्नसक्ने बताएको छ ।

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन् । यो वर्षको सुरुमा इनर मंगोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए।

हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083