शिक्षामन्त्रीको राजीनामा मागको प्रदर्शनमा राहुल गान्धीसहित विपक्षी नेताहरू पक्राउ

247
shares

काठमाडौं । भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै भएको विपक्षी आन्दोलनका क्रममा कांग्रेस नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीसहित प्रमुख विपक्षी नेताहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार प्रधानमन्त्री निवास, लोक कल्याण मार्ग बाहिर धर्ना दिन पुगेका राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालयमा लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण प्रधानमन्त्री निवास आसपासको क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।

प्रदर्शनअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह विपक्षी नेताहरूसँग भेट गर्न पुगेका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत राहुल गान्धीले पूर्वसहमतिअनुसार अघि नबढेको आरोप लगाएका छन्।

उता, कांग्रेसले प्रधानमन्त्री मोदी स्वयं बाहिर आएर आन्दोलनकारीका मागबारे स्पष्ट जवाफ दिनुपर्ने अडान दोहोर्याएको छ। प्रदर्शनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाक्रमलाई लिएर राजनीतिक तनाव अझ बढ्ने संकेत देखिएको छ।


divya collage
unigloble collage