नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1.16K
shares

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार पौडेल उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक हुँदा सरकारी सम्पत्ति दुरुपयोग गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको ठहर गरिएको छ। सो अभियोगमा पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।

पौडेललाई २० भदौ २०८२ भदौ २० मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेका थिए।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार यही प्रकरणमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

अख्तियारले प्रतिवादीहरूले मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई आर्थिक हानि पुर्‍याएको दाबी गरेको छ। अभियोगअनुसार प्रतिवादीहरूमाथि फरक–फरक बिगो रकम कायम गर्दै बिगोबमोजिम जरिवाना र कैद सजायको मागसहित आरोपपत्र पेश गरिएको अदालतले जनाएको छ।