रास्वपा महाधिवेशनमा बरिष्ट नेता शाहको सन्देश: “रास्वपा विकासवादी पार्टी हो, कामबाट चिनिन्छौं”

1.59K
shares

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न आग्रह गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले पार्टी भावनात्मक आन्दोलनबाट संस्थागत राजनीतिक शक्तिका रूपमा विकसित हुने चरणमा पुगेको उल्लेख गरे। उनले महाधिवेशनलाई संगठनलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताए।

शाहले रास्वपाको राजनीतिक दर्शन परम्परागत वाम, दक्षिण वा केन्द्रवादी सीमाभन्दा माथि रहेको दाबी गर्दै पार्टीको मूल उद्देश्य विकास, सुशासन र परिणाममुखी काम भएको बताए। जनताले परिवर्तनको अपेक्षासहित दिएको विश्वासलाई व्यवहारमा उतार्नु नै पार्टीको प्राथमिकता रहेको उनको भनाइ थियो।

उनले भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा आर्थिक अनियमितताका विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे। विगतका गलत अभ्यासको खोजी र अनुसन्धान आवश्यक परे सम्बन्धित निकायसँग लामो समयसम्म समन्वय गरेर पनि अघि बढ्ने उनले बताए।

सीमा र राष्ट्रिय हितका विषयमा समेत सरकार स्पष्ट रहेको उल्लेख गर्दै शाहले नेपालसँग आफ्ना दाबी पुष्टि गर्ने पर्याप्त आधार र प्रमाण रहेको दाबी गरे। राष्ट्रियताको विषयमा कुनै शंका नगर्न उनले आग्रह गरे।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै शाहले नेतृत्व चयनको प्रक्रियालाई स्वस्थ प्रतिस्पर्धाका रूपमा लिन आग्रह गरे। कुनै पदमा निर्वाचित नभए पनि पार्टी र सरकारमार्फत आफ्ना योजना तथा अवधारणाहरू कार्यान्वयन गर्न सकिने भन्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्न केन्द्रित हुनुपर्ने धारणा राखे।

उनले रास्वपाले हरेक निर्वाचनमा एउटै मुद्दा दोहोर्‍याउने नभई समाधान गरिएका समस्याभन्दा अगाडि बढेर नयाँ एजेन्डा प्रस्तुत गर्ने लक्ष्य राखेको बताए। सुकुम्बासी, सहकारी तथा सुशासनसँग सम्बन्धित विषयलाई वर्तमान कार्यकालमै समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा शाहले महाधिवेशनका तीन दिन पार्टीलाई थप एकताबद्ध र बलियो बनाउने विषयमा केन्द्रित हुन आग्रह गर्दै त्यसपछि आगामी पाँच वर्ष देश निर्माणमा समर्पित हुनुपर्ने सन्देश दिए।


divya collage
unigloble collage