किसानकै खातामा अनुदानको रकम उपलब्ध हुन्छ : मन्त्री भुसाल

5.95K
shares

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा उनले उत्पादन क्षेत्र बलियो नभएसम्म मुलुकमा विकास र समृद्धि हासिल गर्न कठिनाइ हुने धारणा व्यक्त गरियो ।

उखु किसानले भोगिरहेका समस्या समाधान गर्न सरकारका विभिन्न संयन्त्रले काम गरिरहेको बताउँदै मन्त्री भुसालले आगामी दिनमा किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको जानकारी दिए। देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुवै मारमा परेको अवस्था रहेको बताउँदै उनले सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने बताए।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तयारीबिना मुलुकलाई आत्मनिर्भर गर्ने भनेर कृषिजन्य आयातमा भन्सार बढाउँदा उपभोक्ता मारमा परिरहेको बताए । नेपाली उत्पादनलाई निर्यात गर्ने सन्दर्भमा गुणस्तर चिन्ह र प्याकिङजस्ता विषयमा प्रश्न उठाइएको अवस्था रहेको बताउँदै उनले मुलुकको ग्रार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिएको कृषि क्षेत्रको विकासका लागि कृषकलाई मलखादमा अनुदान, कम ब्याजमा ऋण, शीतभण्डारणको सुविधा र बजारको व्यवस्था हुनुपर्छ ।

सो अवसरमा चेम्बर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, कृषि समितिका सभापति कृष्णमान श्रेष्ठ, कृषिविज्ञ शरद्चन्द्र श्रेष्ठ, कृषक मिङमार शेर्पा, नेपाल जडीबुटी सङ्घका प्रतिनिधि गोविन्द घिमिरेले अनुकूल हावापानी र माटोको परीक्षण गरी पकेट क्षेत्र तोकेर व्यावसायिक खेती गर्न सरकारले कृषकलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।