नेकपाको केन्द्रीय कमिटि बैठक बोलाउन हस्ताक्षर संकलन

5.56K
shares

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म स्थगित भएको स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

सहमतिका लागि भन्दै असार १३ (भोलिसम्म) स्थायी समिति रोकेर नेताहरु छलफलमा जुटे पनि झन दूरी बढ्दै गए पनि ओली इतर खेमाले अब बैठक स्थगित नगर्ने निष्कर्ष निकालेको हो।

सोमाबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको हो।

छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए। स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।

स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ।

दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

४४१ सदस्य केन्द्रीय समितिमा बैठक बोलाउनका लागि १११ जनाको हस्ताक्षर चाहिने र उक्त संख्या पुगिसकेको छ।