आज २६ औं जनयुद्ध दिवस : प्रचण्डले भने– बलिदान दिन तयार छौं भनेर संकल्प गरौं

11.66K
shares

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौ शहिदको बलिदानपछि जारी भएको संविधान नै धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सृजना भएको बताएका हुन् ।

उनले भने, “यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर बैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ । ”

जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उहाँले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए ।

युद्धकालीन समय योगदान पुरयाएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएपनि सरकारका तर्फबाट बैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए ।

सरकारको तर्फबाट आधिकारीक दस्तावेज प्रकाशित गर्नेमा नगरपालिका पहिलो भएको अध्यक्ष दाहालले बताए । “जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया बर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । ती मध्ये ३ सय २८ शहीद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाईते तथा अपांङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ ।