भागरथी हत्या प्रकरण : प्रहरी अनुसन्धान तेस्रो चरणमा, शव अस्पतालमै

Nepal Life Insurance Long Ad

बैतडीको दोगडाकेदार गाउँपालिका-७ मा बलात्कारपछि मारिएकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जानकारी दिएको छ।

दायरा फराकिलो बनाएर अनुसन्धान थालेको बताएको प्रहरीले अहिले तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको जानकारी दिएको हो। यो अनुसन्धान धेरै लामो नजाने सुदूरपश्चिम प्रदेश प्रहरीले दाबी गरेको छ।

भागरथीको हत्या प्रकरण अनुसन्धान प्रकृयामा थुप्रै व्यक्तिलाई जोडिएको र तीमध्ये केही ‘क्लोज सर्भिलेन्स’मा रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्‌। तिनै व्यक्तिहरूमध्ये कसैले भागरथीलाई बलात्कारपछि हत्या गरेको निश्कर्ष नजिक नजिक प्रहरी पुगेको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘अनुसन्धान भइरहेको छ, भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल पनि निकाल्दैछौं।’

भागरथीसँग रहेका ३ वटा सिमकार्डहरूबाट भएका फोन र त्यसमा सम्पर्कमा आएका व्यक्तिहरू प्रहरीको निगरानीमा छन्।

घटना भएको दिन साथीहरूबाट छुट्टिएपछि भागरथी एक्लै जंगलबाट बाटो हुँदै घर आएको अनुसन्धानले देखाएको छ। फर्किने क्रममा कोही व्यक्ति उनको पछि लागेको र निजले नै बलात्कार गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ।​

भागरथीको हत्या भएपछि भेटिएका भौतिक प्रमाणहरू परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। शंकास्पदहरूको गतिविधि भेरिफाई गर्ने, सोधपुछ र स्क्रिनिङ गर्ने काम भइरहेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन्‌।

उनको हत्यामा एक वा धेरै व्यक्ति संलग्न छन् भन्नेबारे प्रहरी अझै अन्योलमै छ। कसैले सहयोगी भूमिका निर्वाह गरेको हुनसक्ने प्रहरीको बुझाइ छ।

भागरथीको हत्या भएको १० दिन भइसकेको छ। उनको शव जिल्ला अस्पताल बैतडीमा छ।

आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण चाँडै अपराधी पत्ता लगाउन प्रहरीमाथि दबाब परिरहेको छ।

१ फागुन २०७७, शनिवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु