ठेला चलाएर जीविका चलाउँदै राष्ट्रिय जनमोर्चाका एक नेता

5.1K
shares

‘राजनीतिमा संलग्न व्यक्तिले छाटो अबधिमै शहर बजारमा घर घडेरी किन्ने तथा गाडी चढ्छ’ भन्ने सर्वसाधारणको बुझाइ छ । पार्टीमा लामो समयदेखि क्रियाशील व्यक्तिले ठेला रिक्सा चलाएर जीविका चलाइरहेका छन् । शुक्लाफाँटा नगरपालिका– ११ दीपनगरका ५२ वर्षीय जनक कुँवरले परिवारको खर्च चलाउन एक दशकदेखि ठेला रिक्सा चलाउँदै आएका छन्। उनी राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश सदस्य र पार्टीको ट्रेड युनियनको प्रदेश संयोजक हुन् । पार्टीको जिल्ला सचिव हुँदै अध्यक्ष सम्मको जिम्मेवारी उनले वहन गरेका छन्।   सामाजिक क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि सामुदायिक वनको अध्यक्ष रहेरसमेत उनले कुशलतापूर्वक कार्य सम्पादन गरेका छन् । राजनीति र सामाजिक क्षेत्रमा लामो अनुभव सङ्गालेका उनले परिवारको जीविकोपाजर्नका लागि ठेला रिक्सा चलाउँदै आएका छन् ।  बिहानको झिसमिसेमै घरबाट नास्ता गरेर ठेला रिक्सा लिएर बजार क्षेत्रमा निष्कने उनी साँझ अबेर मात्रै घर फर्किन्छन् । नौ जनाको परिवार उनकै कमाइमा आश्रित रहेको छ । ठेला चलाएर दैनिक रु सात सयदेखि रु एक हजारसम्म कमाइ हुने गरेको छ । त्यही कमाइको पैसाले कुँवर परिवारको चुलोमा आगो बल्ने गरेको छ । झलारी, वनसमिति, कलुवापुर बजारमा ठेलामा सिमेन्ट, फर्निचर, फलामे छडलगायतका सामग्री उनले दैनिक रिक्सामा बोक्छन् । कुवँरले पिँठ्युमा सिमेन्टका बोरा बोकेर ठेलामा राख्दै गरेको दृश्य यस क्षेत्रका बासिन्दाका लागि नौलो होइन । ठेला चलाएर आएको रकमबाट उनले एक छोरालाई बिएसी र अर्कोलाई बिबिएससम्म पढाएका छन्।   परिवारको खर्च चलाउनका लागि ठेला चलाएर मात्रै नधानिने भएपछि उनले घरमै कर्जा लिएर बाख्रापालन समेत गरेका छन् ।“शुरुआतमा पाँच बाख्रा पालेको छ”, उनले भने, “यस व्यवसायलाई विस्तारै बढाएर लैजाने योजना छ । बाख्राका लागि घाँसखेती समेत गरेका छौं ।”   व्यावसायिक कार्यमा विपन्न वर्गको पहुँच पु¥याउनका लागि सरकारी पक्षबाट सञ्चालित अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुग्नु हुनुपर्ने उनले बताए। “खेत जोत्नका लागि पावर टिलर ५० प्रतिशत अनुदानमा उपलव्ध भए पनि आर्थिक अवस्थाले नधान्दा ल्याउन सकिएन” उनले भने, “म जस्तै अन्य विपन्नका लागि सरकारले अनुदानका योजना ल्याउनुपर्छ  । व्यवसायमा संलग्न भएका र गर्न चाहनेका लागि अनुदान हुनुपर्छ ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083