डोजरले मर्यादा र भरोसा भत्कायो : गगन थापा

1.16K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुमवासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गर्नुको कडा आलोचना गरेका छन्। उनले डोजरले नागरिकको झुपडी मात्र नभई उनीहरूको आत्मसम्मान र राज्यप्रतिको विश्वाससमेत तोडेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले यस्तो कदम सस्तो लोकप्रियताका लागि गरिएको निर्मम कार्य भएको टिप्पणी गरे। उनका अनुसार यसले सडक त खाली गराउन सक्छ, तर लोकतन्त्रको आधार कमजोर बनाउने खतरा रहेको छ।

उनले नदी किनारका बस्तीहरू व्यवस्थापन गर्नु आवश्यक रहेको स्वीकार्दै त्यसका लागि कानुनी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। “डोजर होइन, कानुनको प्रयोगबाट मात्रै दीर्घकालीन समाधान सम्भव छ,” उनले भने।

थापाले नक्कली सुकुम्बासीलाई कारबाही गर्नुपर्ने तर वास्तविक भूमिहीनलाई पहिचान नगरी बलपूर्वक हटाउने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्। उनले पुनर्स्थापनाको स्पष्ट योजना बिना गरिने उठिवासले समस्या झन् जटिल बनाउने चेतावनी दिए।

उनका अनुसार सुकुम्बासी समस्या केवल गरिबीको विषय मात्र नभई राज्यको दीर्घकालीन नीतिगत त्रुटि र ऐतिहासिक विभेदको परिणाम हो। त्यसैले समाधान पनि संवेदनशील र न्यायपूर्ण तरिकाबाट खोजिनुपर्ने उनको भनाइ छ।

थापाले अन्त्यमा राज्यको शक्ति डोजरमा नभई कानुनको निष्पक्ष कार्यान्वयनमा देखिनुपर्ने उल्लेख गर्दै सरकारलाई विधि र प्रक्रिया अनुसरण गर्न आग्रह गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083