रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ
आज पहिलो केन्द्रीय समिति बैठक
वि.सं.२०८३ असार १७ बुधवार १३:३०
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित नेतृत्वलाई शपथ गराएका हुन्। शपथपछि उनले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसँगै पार्टीको प्रतीक ‘घण्टी’ अंकित मायाको चिनो प्रदान गरेका थिए।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने सभापतिमा रवि लामिछाने निर्विरोध चयन भएका थिए।
शपथ ग्रहण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहे पनि वरिष्ठ नेता बालेन शाह उपस्थित भएनन्।
यसैबीच, रास्वपाले आजै नवगठित केन्द्रीय समितिको पहिलो बैठक बोलाएको छ। बैठकमा संगठन विस्तार, आगामी कार्ययोजना तथा विधानअनुसार मनोनयन गरिने ५१ केन्द्रीय सदस्यको चयनबारे छलफल हुने अपेक्षा गरिएको छ।






























