पत्रकारको परिचयपत्र बोकेर लागूऔषध ओसारपसार गर्ने व्यक्ति खैरो हेरोइनसहित पक्राउ
वि.सं.२०८३ साउन २१ बिहीवार २०:४२
shares

महाेत्तरी। पत्रकारको आवरणमा खैरो हेरोइन ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुभाषचन्द्र बोहराका अनुसार, साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो (Renault) कारलाई शंकाको आधारमा रोकी खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको एसएसपी बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, सिराहा लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र सिराहाकै लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
एसएसपीका अनुसार पक्राउ परेका कार चालक उमेश कुमार यादवसँग ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्र समेत फेला परेको छ। उनले उक्त परिचयपत्र प्रयोग गरी लागुऔषध ओसारपसार गर्न खोजेको हो वा होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले ४ थान मोबाइल फोन, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा १६ च ७८५९ नम्बरको कार र बरामद खैरो हेरोइन नियन्त्रणमा लिएको छ।






















