नेकपा सचिवालय बैठक बस्दै
वि.सं.२०७७ साउन ३ शनिवार १०:२५
shares

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।
नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।
बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो । यद्यपी ओली दुवै पद नछाड्ने अडानमा छन् ।


















