सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो
वि.सं.२०७८ असार २२ मंगलवार १५:३१
shares

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।
चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’
घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए ।
‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’
असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।






























