प्रहरीमाथि खुकुरी प्रहार

6.67K
shares

लमही। दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ। शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो।

जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए। उनका अनुसार स्थानीयवासी थप दुई जना समेत घाइते छन्। सोही ठाउँका विशाल रोका र नैनबहादुर नेपालीको टाउकामा सामान्य चोट लागेको बताइएको छ।

रोका र नेपालीको समूहबीच आपसी विवादपश्चात झडप भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारको आरोपमा अमुवाका २५ वर्षीय चन्द्रवहादुर नेपाली, २० वर्षीय नैनसिंह नेपाली, २२ वर्षीय सुकलाल नेपाली र १६ वर्षीय वीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुका साथबाट खुकुरी, बञ्चरो, खुर्पालगायतका घरेलु हतियार बरामद गरिएको छ। प्रहरीले आरोपीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ।


divya collage
unigloble collage