मालिकको नक्कली सहिछाप गरेर ७५ लाख झ्वाम पार्ने एक मजदुरको योजना पर्दाफास
वि.सं.२०७५ मंसिर २५ मंगलवार १३:४४
shares

जनकपुर । वीरगञ्जस्थित आदर्शनगरमा रहेको मनोकामना ओभरसिजमा कार्यरत एक मजदुरले मालिकको नक्कली सहीछाप गरी ७५ लाख रुपैयाँको चेक बोकेर फरार भएको घट्ना सार्वजनिक भएको छ ।
प्रतिदिन ५ सय रुपैयाँ ज्यालादारीमा काम गर्ने ऋषिकेश प्रसाद कुर्मीले ओभरसिजका मालिक पवनकुमार अग्रवाललाई रु।७५ लाख कर्जा दिएको र उनले फिर्ता गरेको रकमको चेक वाउन्स भएको भन्दै पर्सा जिल्ला अदालतमा मुद्दा दिएपछि घटना सार्वजनिक भएको हो ।
यस्तो थियो घट्ना
पवनकुमार अग्रवालको खाता जनता बैंक आदर्शनगरमा थियो । खाता नम्बर ००५१०४०१७१९७६०३ रहेको सो बैंकबाट २२ जुन २०१७ मा २ लाख ८० हजार रुपैयाँ निकालेपछि कुनै कारोबार नभएको पवनकुमार अग्रवाल बताउँछन् । ‘आफु बाहिर जाँदा प्राय खाली चेकमा दस्तखत गरेर जाने गरेको थिए ।

यहि क्रममा मेरो चेकको ०००२५६७९४३ नम्बरको चेक हरायो । खोज्दा भेटिएन । त्यसपछि गत जेठ ६ गते स्थानीय दैनिक पत्रिकामा चेक हराएको सूचना प्रकाशित गर्न लगाए । जेठ ७ गते ०००२५६७९४४ नम्बरको चेकबाट बैंकमा बाँकी मौज्दात रहेको १५८६९/८५ रकम ऋषिकेशले नै निकालेर ल्याएका थिए । खाता बन्द गर्ने फारम पनि उनैले मसँग सही गराएर लगेका थिए’ अग्रवालको भनाई छ ।
खाता बन्द गर्न फाराम लगेपछि ऋषिकेश काममा आउन छोडेका थिए । तर, ऋषिले २०७५ साल कातिक ७ गते जिल्ला अदालत पर्सामा चेक बाउन्सको मुद्दा दर्ता गरे । मुद्दामा ऋषिले रु। ७५ लाख रुपैयाँ आफुले अग्रवाललाई दिएको र सो वापत उनले चेक दिएको ऋषिकेशको दावी गरेका छन् । उनले यो मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो ।
ऋषिकेश प्रसाद कुर्मी विभिन्न काण्डमा जेल काटिसकेका व्यक्ति भएको उनलाई चिन्नेहरु बताउँछन् । उनको वीरगंज केही दलालहरुसँग साँठगाँठ रहेको अग्रवालको बुझाई छ । त्यही योजनाअनुसार आफुलाई फसाउन किर्ते गरेपनि सत्यतथ्य बाहिर आउने उनको भनाई छ । ‘विधिविज्ञान प्रयोगशालाले तथ्य पत्ता लगाउछ र यसमा संलग्नहरुमाथि छिट्टै कारवाही हुनेछ’ अग्रवालले प्रतिक्रिया दिए ।














