गोँगबुबाट बाघको छालासहित दुई जना पक्राउ
वि.सं.२०७५ मंसिर २६ बुधवार १५:५०
4.94K
shares
shares

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो।
प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङ्गको झोलाभित्र आठ फिट आठ इन्च लम्बाइ र दुई फिट चौडाइ भएको बाघको छालासहित गोँगबुस्थित नयाँ बसपार्कको आकाशे पुलबाट तामाङ र अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए। दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। रासस































