राजधानीमा चोरको बिगबिगी, सचेत रहन प्रहरीको आग्रह

4.82K
shares

काठमाडौं। बुधबार प्रहरी अपराध महाशाखा टेकुमा बाफलमा कोठाभाडामा बस्दै आएकी तनहुँकी रेश्मा गुरुङ आफ्नो कोठा चोरिएको भन्दै उजुरी गर्न आइन्। रेश्माका अनुसार उनको कोठा मंसिर २४ गते दिउँसो ११ बजे तिर चोरी भएको थियो। कोठामा रेश्मा र उनका श्रीमान् बस्दै आएका थिए। रेश्माले भनिन्, ‘श्रीमान् अफिस जानुभएको थियो। खाना खाइसकेर म पनि दिउँसो कपडा धुने साबुन किन्नका लागि नजिकैको पसल पुगेर आउँदा १० मिनेट जतिमा कोठामा चोरी भइसकेछ।

‘कोठाबाट बाहिर निस्कने बेलामा एकै छिनमा आइहाल्छु भनेर ताल्चा नलगाइ निश्केकी थिएँ, पसल पुगेपछि साथीहरुसँग भेट भएकोले एक छिन कुराकानी गर्दा १० मिनेट जति समय लागेको थियो,’ रेश्माले भनिन्। ग्राउण्ड फ्लोरको कोठा भएकोले गेटबाट बाहिरका मान्छेहरु सजिलैसँग कोठासम्म जानसक्ने ठाउँ थियो। दश मिनेटमा फर्केर आउँदा उनको सुन र पैसा मात्र चोरिएको तर मोबाइल, ल्यापटप भने जहाँको त्यँही थियो। दराज खुल्लै रहेकोले गहना र पैसा चोरी भएको उनलाई थाहा त भइहाल्यो तर कसले चोर्यो भन्ने थाहा भएन।

रेश्माले भनिन्, ‘अचम्मको चोर रैछ ल्यापटप र मोबाइल छाडेर गहना र पैसा मात्र लगेछ।राजधानीमा यस्ता चोरीका घटना दैनिक जसो हुने गरेका छन्। प्रहरी प्रवक्ता नरेन्द्र उप्रेती यस्ता चोरीको घटना कुनै नौलो नभएको बताउँछन्। चोरी गर्नेले कसैले मोबाइल ल्यापटप मात्र चोरी गर्ने र कसैले सुन र पैसा मात्र चोरी गर्ने गरेका घटना प्रहरीमा आउने गरेको उनले बताए।

उप्रेती भन्छन्, ‘फरक सामान चोरी गर्ने फरक फरक समूह हुन्छन्। सुन र पैसा चोरी गर्नेहरुले प्रायः ल्यापटप मोबाइल जस्ता इलेक्ट्रोनिक सामान चोरी गर्दैनन्। बरु इलेक्ट्रिक्स सामान चोरी गर्नेहरुले सुन पैसा जे पाएपनि लैजान सक्छन्। कालीमाटी बस्दै आएका राकेश कुमार मण्डलको कोठाबाटै ग्यासको सिलिण्डरसँगै अन्य कोठामा भएका जिन्सी सामानसहित झण्डै पचास हजार रुपैयाँ जतिको चोरी भयो। उनले कोठा भाडामा पक्की घरमा नभएर सानो टिनको छाप्रोमा लिएका थिए।

कोठामा खासै महंगो चिज नभएपनि भाडाकुँडा, ग्यास सिलिण्डर, रासन लगायतका सामग्री समेत चोरी भयो। कोठाको ढोका बलियो नभएकोले ढोका फुटाएर आफू काममा गएको बेला चोरी भएको मण्डल बताउँछन्। मण्डलले भने, ‘कोठा भाडामा बस्ने दुख गरेर खाने म जस्ता मान्छेको कोठा कामबाट फर्किँदा रित्तै भएपछि कसरी काम गरेर खानु ?’ उनी महानगरीय अपराध महाशाखा टेकुमा चोरी मुद्दा दर्ता गराउन गएका थिए।