पुनःनिर्माण प्राधिकरण र स्थानीय तहबीच समझदारी

4.52K
shares

खोटाङ । नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र खोटाङका स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ । भूकम्पपछिको पुनःनिर्माणमा समन्वय एवं सहयोग आदानप्रदान गर्ने गराउने उद्देश्यले जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जिल्लामा पुनःनिर्माणका कामलाई छिटो र सहजरुपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच समझदारी गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए । प्राधिकरण गठन हुँदा स्थानीय तह बनेको थिएन”, उनले भने, “देश सङ्घीयतामा गएसँगै प्राधिकरण र स्थानीय तहबीच भएको अन्योलतालाई हटाउँदै पुनःनिर्माणका काममा दुवै पक्षलाई जिम्मेवार बनाउन समझदारीपत्रमा हस्ताक्षर गराइएको हो ।

दुई पक्षीय समझदारीपछि जिल्लामा हुने हरेक भूकम्पपछिको पुनःनिर्माणका गतिविधि स्थानीय तहको निगरानीमा हुने भएको छ । कर्मचारी खटनपटन, व्यवस्थापन, सिफारिश, हाजिरी प्रमाणितलगायतका काम स्थानीय तहका जनप्रतिनिधिको निगरानी हुने समझदारीपत्रमा उल्लेख गरिएको छ । निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज, प्राधिकरणबाट क्रमशः नगरपालिका\गाउँपालिकामा हस्तान्तरण गरिने, हस्तान्तरण गर्दा लाग्ने खर्च, जनशक्ति र उपकरण प्राधिकरणले उपलब्ध गराउने जनाइएको छ ।