क्रिष्मस डे मनाउने बहानामा इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ
वि.सं.२०७५ पुस २ सोमवार १६:३३
shares

काठमाडौं । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् ।
आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले बताए ।

‘उनीहरु ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं’ उनले थपे, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’ स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।
अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । ‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’ अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।






























