धानसँगै कपडाको तस्करी, साढे ३० लाखको कपडा बरामद
वि.सं.२०७५ माघ २१ सोमवार १२:५३
shares

वीरगञ्ज । पर्साको ठोरीबाट प्रहरीले गरेको ३० लाख ५५ हजार पाँचसय रुपैयाँको कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याइ चितवनको माडीतर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद भएको हो ।
पर्साको ठोरी गाउँपालिका-२ बाट १०५ बोरा धान लोड भएको लु१ख ३३१० नम्बरको ट्रकमा अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी कपडा लैजाँदै गर्दा विशेष सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा ट्रकबाट थान कपडा १९ पोका, कूर्ता सुरुवाल ३०४ पिस, सर्टिङ्ग ३ हजार २ सय ८० मिटर र सुर्टिङ्गका कपडा ६०० मिटर, कूर्ता कपडा २ हजार ६० मिटर र साडी ८८ पिस बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन आयोजना गरेर हिजो साँझ बरामद भएको समान र पक्राउ परेका मानिसहरुको बारेमा सोमबार बिहान जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले ट्रक मालिकसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
चितवनको माडी नगरपालिका-२ बस्ने ट्रक धनी ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने ट्रक चालक २६ वर्षीय प्रकाश दराई र सह चालक १९ वर्षीय सुजन दराइ पक्राउ परेका हुन् । तस्करीको लाइन दिएर प्रहरी, सशस्त्र प्रहरी र भन्सारसँगकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको भएपनि पछिल्लो समयमा प्रहरी र सशस्त्र प्रहरीले धमाधम अवैध ओसार प्रसारलाई नियन्त्रण गरिरहेको छ ।
यसअघि गत माघ १३ गते सशस्त्र प्रहरीले धान लोड भएको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको ६० लाख मुल्य बराबरको अवैध कपडा बरामद गरेको थियो ।
प्रहरी उपरीक्षक ढकालले तस्करी गर्न पल्केकाहरुले नयाँ नयाँ उपाय लगाएर तस्करी गरिरहेको हुन सक्ने बताए । ‘पछिल्लो समयमा हामीले आन्तरिक शुद्धिकरण गर्नुको साथै तलमाथि नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छौं, ‘ उनले भने , ‘लाइन नचलेपछि सुरक्षा निकायको आँखा कसरी छल्न सकिन्छ भन्ने यस्तो उपाय अपनाएको हुन सक्छ ।’
तस्करी गर्नेहरुले समय समयमा रुट र तरिकाहरु परिवर्तन गर्नु सामान्य भएको उनको भनाइ छ ।































